सारांश
विज्ञान मानवमात्रको एक वास्तविक संस्कृति हो । विज्ञान संस्कृति प्रथमतः मानिसहरुले आनो अस्तित्व रक्षाका लागि प्रकृतिका यावत घटनाहरु बुझ्न र पछिल्ला दिनहरुमा तिनका स्रोतहरुको उपयोग गर्ने क्रममा विकसित हुँदै आएको हो । प्रागैतिहासिक कालमा आगोको आविष्कार भएयता विज्ञान र वैज्ञानिक विधिहरु मानव जीवन र जीवनशैलीको अभिन्न अङ्ग बनेको छ । सभ्यताका सम्पूर्ण चरणहरुमा विज्ञानले मानव समाजमा गहिरो प्रभाव पार्दै आएको छ । त्यो उसको मूल्य–मान्यता, नैतिकता, सोच्ने ढङ्ग, जीवनशैली र आचारसंहिता कुनै पनि सामाजिक आयामहरुमा देख्न सकिन्छ, चाहे दार्शनिक चिन्तन होस् वा प्राविधिक औजार। तथापि विज्ञानलाई भाषा वा समाजशास्त्रको परम्परागत परिभाषाभित्र प्रवेश गराएको देखिँदैन । समाजले उसको परिवर्तनकारी शक्तिलाई स्वीकारेको छ, किनभने विज्ञान–प्रविधिको उपयोगले उनीहरुका कैयन् आधारभूत आवश्यकताहरु पूरा गरिदिन्छ र जीवनस्तर उठाउँछ । अनगिन्ती मानिस र कठोर परीक्षाहरुबाट बनेको वैज्ञानिक विधि मूलतः अवलोकन, परिकल्पना निर्माण र त्यसको परीक्षणले उसलाई सत्यको समीप पु¥याएको हुन्छ । तर, ती विधिहरुले मानव संस्कृतिको रुपमा किन जरा गाड्न सकेन ? वैज्ञानिक संस्कृति मानव समाजलाई अघि बढाउन अत्यन्त महङ्खवपूर्ण छ । विश्व ब्रह्माण्डको बोध गर्न, समाज विकासको दृष्टिकोण बनाउन र प्रकृतिको रहस्य बुझ्नमा यसको अथाह प्रभाव छ । तैपनि विज्ञान मानव संस्कृतिको रुपमा एकीकृत हुन सकिरहेको छैन, किन ? के यो मानव धारणाको परिसीमन हो अथवा अछुत व्यवहार ? प्रस्तुत लेखले विज्ञानलाई संस्कृतिको रुपमा बोध गर्न आह्वान गर्दछ ।
विज्ञान मानव जातिको मौलिक संस्कृति हो । वैज्ञानिक ढङ्गले सोच्नु, कुनै पनि घटना वा नतिजालाई विज्ञानको कसीमा घोट्नु र विज्ञानसम्मत छ÷छैन भनी जाँच्नु विज्ञानको संस्कृति हो । यसलाई संसार भरिका हजारौ“, लाखौ“ वैज्ञानिकहरुको त्याग–तपस्या र परिश्रमबाट प्राप्त ज्ञानले पर्गेलेको हुन्छ । थुप्रैपल्ट परीक्षण गरिएका वैज्ञानिक विधिहरुबाट यो परिस्कृत भएको हुन्छ । विश्वव्यापी मान्यता र भेदभाव रहित सहभगिता यसको विशेष चरित्र हो । चिनियाँ विज्ञान प्रज्ञा–प्रतिष्ठान (कास)बाट प्रकाशित हुने एउटा जर्नलमा प्राध्यापक चुन्ली पाईको सम्पादकीय लेख छापिएको थियो । कास विश्वकै सबभन्दा ठूलो अनुसन्धान संस्था हो, यसमा ५६ हजार वैज्ञानिकहरु कार्यरत छन् । र, ७९ हजार विद्यार्थीहरु अध्यनरत छन् । तीमध्ये अधिकांश विद्यावारिधि गरिरहेका हुन्छन् । कासको नेतृत्वसमेत गरिसक्नुभएका पाई (Bai, 2012) लेख्छन्– ‘वैज्ञानिक संस्कृति एउटा विकसित संस्कृति हो । वैज्ञानिक चिन्तन यसको केन्द्रमण्डल हो र वैज्ञानिक भावना यसको प्राण हो ।’ मानव सभ्यता विकासको क्रममा सामाजिक मूल्य–मान्यता, नैतिकता, जीवनशैली र आचारसंहिता निर्धारण तथा विचार निर्माणमा वैज्ञानिक संस्कृतिले महङ्खवपूर्ण योगदान पुर्याएको छ ।
भारतमा संविधान नै संशोधन गरीकन वैज्ञानिक संस्कृतिको भावना अङ्गीकार गर्ने धारा थपिएको छ । सन् १९७६ मा संशोधित भारतीय संविधानको धारा ५१–ए मा लेखिएको छ– ‘वैज्ञानिक स्वभाव (साइन्टिफिक टेम्पेरामेन्ट)को विकास गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ ।’ संविधानमा लेखिएअनुसार वैज्ञानिक स्वभावले धर्म निरपेक्षता, मानववाद र खोज तथा सुधारको विकास गर्न सहयोग पुर्याउने छ । ‘साइन्टिफिक टेम्पेरामेन्ट’ भन्ने शब्द जवाहरलाल नेहरुले आनो पुस्तक ‘दि डिस्कवरी अफ इंडिया’ (प्रकाशन वर्ष सन् १९४६) मा प्रयोग गरेका थिए । वैज्ञानिक स्वभावको प्रवद्र्धनमा पछि वैज्ञानिक डा. पीएम भार्गव (१९२८–२०१७) लगायत अरु धेरै वैज्ञानिकहरुले अभियानहरु चलाएका थिए । संविधानमा उल्लिखित बुँदा थप्ने महङ्खवपूर्ण कामको श्रेय उनैलाई दिइन्छ । पछिल्लो समय हिन्दुवादीहरुको अवैज्ञानिक क्रियाकलाप बढ्दै गएपछि विरोधस्वरुप उनले सन् २०१५ मा आफूलाई प्रदान गरिएको पद्मभूषण अवार्डसमेत फिर्ता गरेका थिए ।
धेरैलाई के लाग्छ भने संस्कृति भनेको मानिसको भाषा, भेषभूषा, धर्म, लवाइखवाइ, रीतिस्थिति र उसले कायम गरेको सामाजिक आचारसंहिता हुन् संस्कृतिको परिभाषा धेरै भेटिन्छ । समाजशास्त्रीहरूले उद्धरण गर्ने एउटा प्रचलित परिभाषा एडवार्ड टाइलर (१८३२-१९१७) को हो । उनको परिभाषाअनुसार संस्कृति भनेको एउटा यस्तो समष्टिगत प्रणाली हो, जसमा ज्ञान, विश्वास, कला, सिद्धान्त, नैतिकता, रीतिस्थिति र मानिसले समाजको एउटा सदस्यका हैसियतले हासिल गरेको अरू कुनै पनि क्षमता समावेश भएको हुन्छ (Tylor 1871)। उनले यो पनि भनेका छन्- संस्कृतिले सामाजिक व्यवहार, समाजमा चलिआएका नीति- नियमहरू र मान्यतासमे तलाई समेट्छ। यसलाई समाजशास्त्रमा सम्पूर्ण समाजको जीवन पद्धति पनि भनिन्छ । यसप्रकार संस्कृति एउटा ठूलो छाता शब्दावलीजस्तो देखिन्छ । नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान, विसं २०७५) मा संस्कृतिका चारवटा अर्थ दिइएको छः १) कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रूप दिएर चम्किलो, उज्यालो र निखुट बनाउने काम; सँस्कार; परिष्कार । २) कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था, आदिमा प्रबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप । ३) धेरै समयदेखि देशकालसापेक्ष भई अन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन । ४) कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि नाम । विज्ञान र वैज्ञानिक क्रियाकलाप माथिका सबै अर्थ वा परिभाषाहरूभन्दा पृथक छैन । विज्ञान मानिसको क्षमता हो, वस्तुलाई परिष्कृत गर्ने काम हो अनि राष्ट्रको आर्थिक विकासको शक्ति, मानव जातिको चिन्तनमनन, समयसापेक्ष अभ्यास, अभिव्यक्ति र जीवनलाई हेर्ने दर्शन पनि हो । 'संस्कृति'जस्तै विज्ञान गतिशील छ, अझ द्रूत गतिमा । भन्ने हो भने विज्ञान मानिसको सामाजिक संस्कृति र सँस्कारलाई नै रूपान्तरण गर्ने संस्कृति हो । नेपालमा मानिसहरू हिजो ढुङ्गालाई पूजा गर्दथे, अहिले मोटर-गाडी, हवाईजहाज र कारखानामा ईन्जिनहरूको पूजा गर्नु र बलि चढाउनु उसको संस्कृति बनेको छ । आजकल मानिसहरू बेलविवाह, व्रतबन्ध र विवाहको विधिविधान युट्युबबाट सिक्छन् । के यो प्रविधिले डोऱ्याएको सामाजिक संस्कृति हैन ? प्रविधि आफैं विज्ञान र वैज्ञानिक सँस्कारले उनेको विधि र उत्पादन हो । यो बेग्लै कुरा हो कि सोह्र श्राद्ध वैज्ञानिकले गराउँदैन र त्यो विज्ञान पनि हैन । जीवन र जगत्लाई हेर्ने मानिसहरूका आफ्नै दृष्टिकोणहरू हुन्छन् । त्यस्तो दृष्टिकोणको निर्माण उसको अध्ययन र ज्ञानको दायरा, ऊ हुर्के-बढेको समाज र परिवेश, उसको अनुभव र चिन्तन, आदिमा निर्भर हुन्छ । विश्व दृष्टिकोणका सन्दर्भमा पोजिटिभिजमका प्रणेता अगस्ट कम्त (फ्रान्सेली दार्शनिक, १७९८-१८५७) ले समाजलाई तीन अवस्थाहरूमा वर्गीकरण गरेका छन्- धर्मशास्त्रीय (थियोलजिकल), अधिभौतिक/पराभौतिक (मेटाफिजिकल) र वैज्ञानिक (साइन्टिफिक) । तेश्रो वर्गलाई प्रत्यक्षवाद (पोजिटिभिजम) पनि भनिन्छ, यसले विज्ञान र वैज्ञानिक विधिको पैरवी गर्दछ । हामी कुन अवस्थामा छौं ? यथार्थ के हो त ? लुदविक वित्केनस्टाइन (अस्ट्रियन दार्शनिक, १८८९-१९५१) भन्छन्- 'यथार्थ भन्ने कुरा हामीले प्रयोग गर्ने शब्दले निर्धारण गर्छ ।' र, उनको निक्र्यौल थियो- मेरो भाषाको सीमा भन्नु मेरो विश्वको सीमा हो । भाषा विद्वान्हरूको परिभाषामा विज्ञान संस्कृतिका रूपमा नअटाउनु त्यही सीमाको कारण त हैन ?
सन् २०२३ जनवरीको फिलोसफी अफ साइन्स जर्नल (ग्रन्थ ६० अंक १) मा छापिएको प्राध्यापक डेनियल होकको रचनाले वैज्ञानिक समुदायमाझ हलचल मच्चाइदिएको छ- कसरी एउटा शब्द सीमा र गलत अनुवादले आइज्याक न्युटन (१६४३-१७२७) को पहिलो सिद्धान्तलाई झन्डै तीन सय वर्षसम्म भ्रमपूर्ण बनाइदियो । न्युटनको चालसम्बन्धी सिद्धान्त समाहित पुस्तक सन् १६८७ मा प्रकाशित भएको थियो, जसले ब्रह्माण्डलाई बुझ्ने वैज्ञानिक धारणाको विकास गरिदियो र हजारौं वर्षदेखिको जिज्ञासालाई गरिदियो मानव समाधान उनको मौलिक सिद्धान्त र पुस्तक लेटिन भाषामा लेखिएको थियो, जसको नाम थियो- 'फिलोसफिए नाचुरालिस प्रिन्सिपिया माथेमातिका' । एकचालिस वर्षपछि उक्त पुस्तक पहिलो पल्ट अङ्ग्रेजी भाषामा अनुदित भयो । त्यतिन्जेल न्युटनको मृत्यु भइसकेको थियो । न्युटनको पहिलो सिद्धान्तलाई सबैले कसरी बुझ्दै आएका थिए भने कुनै पनि वस्तु गतिमा छ भने गतिमै र चालमा छ भने चालमै बस्न खोज्दछ, जबसम्म त्यसमा बाह्य बल लाग्दैन । वैज्ञानिक जगत्ले के बुझ्न सकिरहेका थिएनन् भने ब्रह्माण्डमा कुनै पनि वस्तु 'स्वतन्त्र' हुँदैनन्, तिनमा धेरै वा थोरै बाह्य बल परिरहेकै हुन्छ । तब न्युटनलाई किन यस्तो नियम बनाइरहनु परेको होला ? होकका अनुसार न्युटनले 'जबसम्म' (अङ्ग्रेजीमा 'अनलेस') भन्ने शब्द प्रयोग गरेका थिएनन् । उनले प्रयोग गरेको ल्याटिन शब्द 'निसी क्वातेनस' थियो, जसको सही अनुवाद 'सिवाय त्यो हदसम्म' (एक्सेप्ट इन्सोफार) भन्ने हुन्छ । अतः यस सिद्धान्तको पुनर्लेखन हुनु आवश्यक छ । यसको व्यापक असर के पर्यो भने अन्य भाषामा त्यस सिद्धान्तको प्रायः अनुवादको आधार त्यही 'अनलेस' वाला अङ्ग्रेजी हुन गयो । वित्केनस्टाइनको शब्द र भाषाको सीमाले विश्वको सीमा कसरी संकुचित गर्दछ भन्ने यो एउटा उदाहरण हो ।
आगोको आविष्कारलाई चार्ल्स डार्बिन (१८० ९-१८८२) ले मानव जातिको सबभन्दा महान् आविष्कारको संज्ञा दिएका छन्, एउटै अपवाद भाषा । आगोको आविष्कार कम्तिमा ७ लाख वर्षअघि मानवको आदिम पुर्खा होमो इरेक्टस (अस्तित्व अवधि आजभन्दा १६ लाख वर्षदेखि २ लाख ५० हजार वर्ष अघिसम्म) ले गरेका थिए । यद्यपि पृथ्वीमा प्राकृतिक आगोको स्रोत मानव जातिको विकास हुनुभन्दा करोडौं वर्ष पहिलेदेखिन् उपलब्ध थियो । जस्तैः ज्वालामुखी, उल्कापिण्ड, चट्याङ्ग आदि । होमो इरेक्टसहरू ढुङ्गाका औजार प्रयोग गर्न सिपालु थिए । यस्तो परिकल्पना गरिन्छ कि होमो इरेक्टस प्रजातिका कसैले दुईवटा दर्शनढुङ्गा जुधाएर पहिलोपटक आगोको झिल्को निकालेका थिए । अहिलेका मानव होमो सेपियन्सले नियन्त्रित आगोको विज्ञान उनैबाट प्राप्त गरेको हुनु पर्दछ । होमो सेपियन्सको उदय १ लाख ८० हजार वर्षपहिले भएको वैज्ञानिक धारणा छ । यिनका जति पनि संस्कृति र परम्पराहरू छन्, जन्मदेखि मृत्युसम्म ती आगोबेगरका छैनन । चाहे ती कुनै पनि भूगोलमा बसोबास गरेका किन नहोउन् । यसरी आगोको विज्ञान यिनको सभ्यताको उषाकालबाटै सँस्कारगत रूपमा जोडिएर आएको देखिन्छ । भाषाको विकासलाई आगोपछिको महान् आविष्कार मानिन्छ र यो अहिलेका मानव प्रजाति होमो सेपियन्सको मौलिक आविष्कार थियो । भाषाको विकास १ लाख ५० हजार देखि २ लाख वर्षको अन्तरालमा भएको अनुमान गरिन्छ । भाषाविद् एवं दार्शनिक नोम चम्सकी (जन्म १९२८) का अनुसार यस प्रजातिमा भाषा सिक्ने जन्मजात खुबी हुन्छ । संसारमा हजारौं भाषाहरू बोलिन्छन्, सयौं भाषाहरू लेखिन्छन् । नेपालमा मात्र पनि १२९ वटा भाषाहरू बोलिने कुरा प्रकाशमा आएको छ । संसारमा कतिपय भाषाहरू लोपसमेत भइसकेका छन् । बोलिने/लेखिने भाषाहरू पनि धेरै परिष्कृत भइसकेका छन् र हुँदै जान्छन् । भाषा र संस्कृतिबीच ठूलो अन्तरसम्बन्ध छ । भनिन्छ, भाषा संस्कृति हो, संस्कृति भाषा हो । तर, विज्ञानचाहिँ भाषाबेगरको संस्कृति हो । वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमार्फत् सञ्चार आदानप्रदान गर्नु अहिलेको मानव समुदायको संस्कृति बनेको छ । अग्नि संस्कृतिकै कुरा गर्दा त्यो भाषाको आविष्कार हुनुअघि नै विकास भइसकेको प्रविधि सँस्कार थियो । विज्ञान-प्रविधिलाई आर्थिक समृद्धिको शक्ति भनिन्छ । अठारौं शताब्दीको मध्यबाट शुरू भएको औद्योगिक क्रान्तियता संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकहरूले अभूतपूर्व रूपमा आर्थिक उन्नति गरेको कुरा कसैबाट लुकेको छैन । सन् २००४ मा बेलायती अर्थशास्त्री एङ्गस म्याडिसन (१९२६- २०१०) को 'विश्व अर्थतन्त्र ऐतिहासिक तथ्याङ्क' नामक एउटा युगान्तकारी पुस्तक प्रकाशित भयो । पुस्तकले विभिन्न देशहरूको जनसङ्ख्या र आर्थिक वृद्धिको तथ्याङ्क उतार गरेको थियो, जसका आधारमा पछि अनुसन्धानकर्मीहरूले आर्थिक विकासको ऐतिहासिक प्रवृत्तिको चित्र म्याडिसन ग्राफ उतारेका छन् । जस्तैः म्याडिसन ग्राफले प्रस्टरूपमा के देखाउँछ भने विश्वको कुल गार्हस्थ्य उत्पादनमा गत दुई हजार वर्षको इतिहासमा औद्योगिक क्रान्तिको बिगुल बज्नुअघि अर्थात् सन् १७६० सम्म सबभन्दा धेरै योगदान चीनको (३० प्रतिशत) र भारतको (२५ प्रतिशत) थियो । जुन युरो पको भन्दा बढी हो । त्यही नै बेला संयुक्त राज्य अमेरिकाको योगदान २ प्रतिशतभन्दा कम थियो । औद्योगिक क्रान्तिपछि भने गङ्गा उल्टो बग्न थाल्यो, चीन र भारतको स्थानमा अमेरिका र युरोप पुगे । यो क्रम अद्यापि जारी छ । युरोप र अमेरिकाको आर्थिक चमत्कारको रहस्य अरू केही हैन, हो त प्रविधिको प्रयोग र नवप्रवर्तन । प्रविधिको प्रयोग र नवप्रवर्तन किन हुन सक्यो ? यो बढी महत्त्वको कुरा हो । औद्योगिक क्रान्ति हुनुअघि युरोपमा अभूतपूर्व तवरले बौद्धिक आन्दोलनको हुण्डरी चलिरहेको थियो, जुन कालखण्ड (१६८५-१८१५) लाई ज्ञानको युग वा कारणको युग भनिन्छ । बौद्धिक आन्दोलनको पृष्ठभूमिमा पुनर्जागरण (१४५०-१६५०) थियो । पुनर्जागरण युरोपेली दर्शन, ज्ञान-विज्ञान, कला, संस्कृति, राजनैतिक र सामाजिक पुनरूत्थानको युग थियो, जसलाई मलजल गरेको थियो वैज्ञानिक विचार वा वैज्ञानिक संस्कृतिले । युरोपको त्यस मध्ययुगीन अवस्थामा १५ सय वर्षदेखि चर्चले मानी आएको पृथ्वीकेन्द्रित तोलेमीको सिद्धान्तमाथि प्रश्न सूर्यकेन्द्रित सिद्धान्त प्रतिपादन गर्नु जीवन- मरणको प्रश्न थियो । त्यो प्रश्न गर्ने साहस निकोलस कोपर्निकस (१४७३-१५४३) वा ग्यालिलियो ग्यालिली (१५६४-१६४२) लाई कहाँबाट प्राप्त भयो होला ? स्थापित मान्यतालाई चुनौती दिँदा सोक्रेटसले विषपान गर्नुपरेको कुराबाट ती वैज्ञानिकहरू अनभिज्ञ पक्कै थिएनन् । एकदमै सारांशमा भन्नुपर्दा उनीहरूलाई त्यो वैज्ञानिक सँस्कारबाट प्राप्त गर्दै र आत्मविश्वास थियो (Bhuju 2022) | मानिसको व्यक्तिगत सुख-सुविधा देशको आर्थिक समृद्धिमा विज्ञान तथा प्रविधिले अभूतपूर्व रूपमा योगदान पुऱ्याउन थालेपछि विज्ञान विषयलाई विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा प्रवेश गराइयो । मूलतः यो औद्योगिक क्रान्ति (१७६०-१८४०) सँगसँगै आएको धरणागत परिवर्तन थियो । औद्योगिक क्रान्तिबाट मानिसहरूले के महसुस गर्न पुगे भने व्यावहारिक जीवनको निम्ति विज्ञान एक विशाल खानी रहेछ (Nature Editorial 1931) । तत्पश्चात वैज्ञानिकहरू ज्ञानका लागि चिन्तन-मनन गर्ने सौखिन (अमेच्योर) विचारकहरूबाट व्यावसायिक पेसाकर्मी (प्रोफेसनल) मा बदलिन शुरू भयो । क्रमिक रूपमा विज्ञान चिन्तन-मनन गर्ने एउटा बौद्धिक सँस्कार र जीवनमार्ग मात्र नभएर जीविकोपार्जन समेत गर्ने जागिर वा पेसाको रूपमा विकसित हुन थाल्यो । अर्को अर्थमा, यो अर्थोपार्जन गर्ने साधन हुनगयो र पुँजीको दास बन्न थाल्यो । मालिक अरू नै कोही भए । हालसालै 'नेचर' जर्नलमा चिन्ताजनक तथ्याङ्कसहितको लेख (Park et al 2023) छापियो । लेख भन्छ- विगत ६ दशकयता युग परिवर्तन गर्ने खालका विघटनकारी विज्ञानमा ठूलो ह्रास आएको छ । विघटनकारी विज्ञान भन्नाले यस्तो बुझिन्छ, जसले सयौं वर्षदेखि गढेर बसेको मान्यतालाई भत्काउँदै मानिसको ज्ञान-क्षितिजलाई फराकिलो र परिष्कृत गरी मानिसको आम धारणामा परिवर्तन ल्याउँछ । जस्तैः कोपर्निकसद्वारा प्रतिपादित सूर्यकेन्द्रित सिद्धान्त, न्युटनको गुरूत्वाकर्षणको सिद्धान्त, पाश्चरद्वारा प्रतिपादित रोगको किटाणु सिद्धान्त, डार्बिनको जीव विकास सिद्धान्त, आइन्सटाइनको सपेक्षवादको सिद्धान्त, आनुवांशिकी वस्तु डिएनएको आविष्कार आदि । अनुसन्धाताहरूको सो समूहले ४ करोड ५० लाख वैज्ञानिक लेखहरू र ३९ लाख प्याटेन्टको 'लार्ज डाटा' प्रयोग गरीकन सिडी सूचाङ्क निकालेको थियो । तर, नतिजा निराशाजनक रह्यो । कारण यही हुन सक्छ, विज्ञान र वैज्ञानिकहरू प्रकृतिको रहस्य खोतल्न तथा ज्ञान उत्पादनका निम्ति हैन, नाफा दिने प्रविधिको खोजमा बढी लागे ।
वैज्ञानिक संस्कृतिको सामाजिक उद्देश्य के हुन सक्छ ? सम्भवतः वैज्ञानिक संस्कृतिको सबभन्दा महत्त्वपूर्ण सामाजिक उद्देश्य भनेको मानिसमा रहेको पुरानो विचारलाई तर्कसङ्गत विचारमा रूपान्तरण गर्नु हो (Xiao, 2007) 1 त्यसो त पुराना विचारहरूले पनि सत्यको खोजी गर्दछन् । तर, त्यस प्रक्रियामा वस्तुगत विश्लेषण हुँदैन, ज्यादाजसो ती भाग्यवाद र छद्मविज्ञानबाट निर्देशित हुन्छन् । छद्मविज्ञान भन्नाले झट्ट हेर्दा /सुन्दा विज्ञानजस्तो लाग्ने तर वैज्ञानिक विधिलाई भने नपछ्याउने तर्क भन्ने बुझिन्छ । सही विज्ञानमा कुनै पनि घटना/परिघटनाको विवेचना तर्कयुक्त मात्र हुँदैन, त्यसलाई वैज्ञानिक विधिको कसीमा घोट्ने गरिन्छ । वैज्ञानिक विधि एक प्रकारको व्यवस्थित चक्र हो, जसमा मूलतः पाँचवटा अवस्थाहरू हुन्छन्ः अवलोकन, परिकल्पना (हाइपोथेसिस) निर्माण, परीक्षण, नतिजा विश्लेषण र निष्कर्ष । वैज्ञानिक संस्कृतिले यिनै विधिको पैरवी गर्दछ र एकप्रकारले त्यो सँस्कार बन्न पुग्दछ । सँस्कार एक स्वाभाविक अनि स्वस्फुर्त प्रक्रिया हो (Snow, 1961)1 वैज्ञानिक विधिको विकास प्राकृतिक विज्ञान (नेचुरल साइन्स) का अभ्यासकर्ताहरूबाट क्रमिक रूपमा भएको हो जस्तोः ग्रह/उपग्रहहरूको अवलोकन गर्न ग्यालिलियोले दुरबिनको प्रयोग गरे । दुर बिनको आविष्कारले आकाशीय पिण्डहरूलाई हेर्ने मानिसहरूको दृष्टिकोणमै आमूल परिवर्तन ल्याइदियो । त्यस्तै सन् १८६० को दशकमा रोगहरू लाग्नुको कारण कीटाणु (ब्याक्टेरिया) हुन् भन्दै लुई पाश्चर (१८२२ - १८९५) ले कीटाणु सिद्धान्त प्रतिपादन गरे । आँखाले नदेखिने कीटाणुहरूबाट कसरी रोग लाग्छ ? जनसाधारण मात्र हैन उतिबेलाका वैज्ञानिकहरू समेतलाई बुझाउन उनलाई हम्मेहम्मे पर्यो । त्यसबेला मानिसमा रोग लाग्नुको कारण अदृश्य शक्ति, टुनामुना, दोष, बोक्सा-बोक्सी, वायु, श्राप आदि हुन् भन्ने आमधारणा थियो । पाश्चरले माथि उल्लिखित वैज्ञानिक विधिबाट निक्र्यौल गर्न सुझाए र त्यसको व्याख्या गर्न (I MRAD (Introduction, Methodology, Results and Discussion अर्थात् परिचय, विधि, नतिजा तथा छलफल) को सूत्र दिए । आजभोलि यो सूत्र सामाजिक विज्ञानमा समेत लोकप्रिय भएको छ । यद्यपि वैज्ञानिक विधि प्रयोगशालाहरूमा अनुसन्धानको मूल आधार हो । वैज्ञानिकहरू यसैमा टेकेर अनुसन्धान गर्दछन्, समाज र सभ्यताका लागि नयाँ-नयाँ वस्तुहरूको आविष्कार गर्दछन् । आम मानिसहरू तिनबाट उत्पादित वस्तुको उपभोग गर्दछन् र यथेष्ट लाभ लिन्छन् । दुरूह कुरा के हो भने यति हुँदाहुँदै पनि विज्ञान मानव संस्कृतिको रूपमा किन एकाकार हुन सकिरहेको छैन ? ग्रीसेली पौराणिक कथामा एउटी पात्र छिन्- केसान्द्रा । केसान्द्रा एपोलोकी एक समर्पित पुजारी थिइन् र उनलाई भविष्यवाणी गर्न सक्ने वरदान प्राप्त थियो । तर, बिडम्बना के भने उनको भविष्यवाणीमा कसैको विश्वास भने हुँदैनथ्यो । फ्रेडरिको मायोर जारगोजा जो एक वैज्ञानिक र युनेस्कोमा लामो समय नेतृत्व दिएका कुटनीतिज्ञ पनि हुन्, एउटा प्रसङ्गमा उनले एकचोटि भने का थिए- विज्ञान हाम्रो युगको केन्द्र भएको छ । विज्ञानप्रतिको यो दृष्टिकोणमा परिवर्तन जरूरी भएको छ।
विद्वान्हरूले संस्कृतिलाई 'जीवन' भनेका छन् । विज्ञानले मानव चिन्तनलाई फराकिलो बनाउँदै उसको सभ्यतालाई वैभव र इतिहास प्रदान गरेको छ । मानव भविष्य पनि यसैमा निहित छ । तथापि, मानव जीवनकै अङ्ग बनेको विज्ञानलाई उसको संस्कृति भने बन्न दिइएको छैन । विज्ञानलाई बढी सुविधा र नाफाखोरको यान्त्रिक साधनका रूपमा दुरूपयोग गर्न थालिएको छ, खासगरी औद्योगिक क्रान्तियता पुँजीवाद झाँगिन थालेपछि । समाज झनै प्रविधि निर्भर तर वैज्ञानिक चेतनाबाट दूर विज्ञान-निरक्षर हरूको झुण्ड बन्दै गइरहेको छ । सभ्यताका लागि यो वास्तवमै आत्मघाती यात्रा हुनेछ । यस्तो दुर्घटनाबाट जोगाउने मानवीय चेतनाको दियो भनेको विज्ञान संस्कृति हो । विज्ञानलाई मानवीय चिन्तन र संस्कृतिसित एकाकार गर्न जरूरी भएको छ ।
Bai C (2012) Promoting scientific spirit to cultivate scientific culture . Bulletin of the Chinese Academy of Sciences Editorial, 26 (3): 174-175
Bhuju DR (2022) Scientific culture and professionalism . Keynote speech at 10th Annual Conference of Nepalese Society of Neurosurgeons
(8-10 September, 2022), Pokhara, Nepal
Maddison A (2007) Contours of the World Economy I-2030AD . Oxford University Press, ISBN 978-0199227204
Nature Editorial (1931) Professionalism and science . Nature, 3217 (127): 961-963
Park M, E Leahey and RJ Funk (2023) . Papers and patents are becoming less disruptive over time . Nature, 613: 138–144
Snow, CP (1961) . The Two Cultures and the Scientific Revolutions . Cambridge University Press.
Tylor, E (1871) . Primitive Culture . Vol 1 . New York: JP Putnam’s Son
Wang, C (2018) . Scientific culture and the construction of a world leader in science and technology . Cultures of Science, 1(1): 1–13
Xiao, SJ (2007) Reconsideration on the implantation of modern Chinese scientific culture . The Science Education Article Collects (10):
170–172 . Cited in Wang (2018).
Copyright © 2025, The Alternative Publishing Limited
Comments
Leave a Comment